देउखुरीमा बन्यो नेपालको दोश्रो लामो पुल

तुलसीपुर : दाङको देउखुरीमा नेपालकै दोस्रो ठूलो पुल निर्माण कार्य पूरा भएको छ । राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो ।

आठ सय ६० मिटर लम्बाई र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करिब एक अर्ब लगानीमा निर्माण पूरा भएको हो । अनक निर्माण सेवाले आर्थिक बर्ष २०७२÷०७३ देखि निर्माण कार्य शुरु गरेको हो ।

आव ०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यस अगावै निर्माणको काम पूरा भएको पुल निर्माणको योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिल बाबु पन्तले बताए । ‘पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो ’ उनले भने ‘तर सम्झौता अवधि पूरा गर्नु चार महिनाअघि नै हामीले काम पूरा गरेका छौँ ।’

अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भईरहेको उनले बताए । उक्त पुलको आउदो माघ महिनामा उद्घाटन हुने समेत उनको भनाई छ । उक्त पुल निर्माण भएसंगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *