यसवर्ष स्वदेशकै विद्युतले तिहारको माग धान्ने

 

काठमाडौं : लोडसेडिङ पूर्ण रुपमा अन्त्य भएको तीन वर्ष पूरा भएको छ। २०७४ सालको लक्ष्मीपूजाको दिन नेपाल विद्युत प्राधिकरणले मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरेको थियो। त्यसको तीनवर्ष पछि नेपालले आफ्नै उत्पादनबाट वर्षभरिकै सबैभन्दा बढी विद्युत माग हुने तिहारको समयमा पनि माग धान्ने भएको छ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यसवर्ष लक्ष्मीपूजाको दिन अधिकतम १ हजार १ सय ९० मेगावाट माग पुग्न सक्ने आंकलन गरिएको छ। उक्त माग पूरा गर्न आन्तरिक उत्पादनबाटै सम्भव देखिएको हो। ‘हामीले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ५० मेगावाट मात्र आयात गर्दैछौं। तर त्यही समयमा रक्सौल–परवानीपुर प्रसारण लाइनबाट ३० मेगावाट विद्युत बिहारलाई दिँदैछौं।

यसरी हेर्दा समग्रका २० मेगावाट विद्युत मात्र भारतको हुनेछ,’ प्रवक्ता अधिकारीले भने। ‘यसपटक नेपालकै विद्युतबाट देशभर झिलिमिली हुँदैछ, सम्पूर्ण ग्राहकलाई धक फुलाएर विद्युतीय सामग्रीको प्रयोग गर्न हामी आग्रह गर्छौ,’ उनले भने।

मुलुकभरको विद्युत माग र आपूर्ति अत्यन्तै सहज हुने गरेर व्यवस्थापन गरेको पनि उनको भनाइ छ। तिहारको लागि मात्रै भनेर ४–५ दिनका लागि ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ५० मेगावाट विद्युत भारतबाट आयात गरिँदैछ।

उक्त प्रसारण लाइनबाट नेपालले तिहारअघि विद्युत आयात गर्ने गरेको थिएन। अघिल्लो वर्षसम्म २ सय ५० मेगावाट देखि ३ सय मेगावाटसम्म भारतबाट आयात हुने गरेकोमा यसवर्ष ५० मेगावाटमात्रै आयात गर्न लागिएको हो। यसवर्ष टनकपुर प्रसारण लाइनबाट विद्युत आयात शून्य छ।

प्रवक्ता अधिकारीका अनुसार नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ५ सय ५८ मेगावाट उत्पादन र निजी क्षेत्रको ३ सय ८३ मेगावाट उत्पादन गरी कुल ९ सय ४१ मेगावाट विद्युत नेपालमा उत्पादन भइरहेको छ।

यही उत्पादनबाटै १ हजार १ सय ९० मेगावाट सम्मको लोड धान्न सक्ने गरी व्यवस्थापन गरेको उनको भनाइ छ। ‘त्यो भनेको अधिकतम माग अनुमान हो। तर त्यो भन्दा कम पनि हुनसक्छ। त्यो मागलाई हामी नेपाल भित्रकै विद्युतले सहज रुपमा व्यवस्थापन गर्न सक्छौं,’ उनले भने।

प्राधिकरणले सबै प्राविधिक र इन्जिनियरहरूलाई तिहारको समयमा आफ्ना सबस्टेसन र वितरण कार्यालय नछाड्न निर्देशन दिएको छ। ‘अहिले पनि कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु, शाखा प्रमुखहरु अहिले पनि साइटमै हुनुहुन्छ। उपत्यकाका विभिन्न स्थानमा पुगेर यहाँको विद्युत प्रणालीबारे निरीक्षण भईरहेको छ,’ अधिकारीले भने।

उपत्यकाका बढी जोखिम भएको भक्तपुर, पाटनलगायत क्षेत्रका सबस्टेशनहरुलाई मर्मत सम्भार गरी चुस्त–दुरुस्त बनाइएको छ। प्राविधिकहरू साइटमा खटाउनका लागि सवारी साधन र अरु उपकरणहरु ‘स्टाण्डबाई’ राखिएका छन्। समस्या आईपर्दा तत्काल खटिने प्राविधिक सहितको ‘र्‍यापिड टाक्सफोर्स’ तयार पारिएको छ।

केहिदिन अघिमात्र बर्दघाट सबस्टेशनमा भएको आगलागीका कारण २२ दशमलव ५ एमभिएको एउटा र ७ दशमलव ५ एमभिए क्षमताको अर्को गरी २ वटा ट्रान्सफर्मर जलेका कारण त्यो सबस्टेशनबाट प्रशारण हुँदै आएको १२ मेगावाट विद्युत प्रशारणमा व्यवधान देखिएको छ।

तर, प्रवक्ता अधिकारीले त्यो सबस्टेशनले आपूर्ति गर्न नसकेको अवस्थामा परासी सबस्टेशन र गण्डक सबस्टेशनबाट वैकल्पिक विद्युत प्रशारण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *