‘हामी यस्तै त हो नि ब्रो’ का गायक भिटेन सात दिन हिरासतमै

चर्चित र्‍यापर समिर लामा (भिटेन) लाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ। बिहीबार ललितपुरको झम्सिखेलबाट पक्राउ परेका लामालाई आवश्यक कारबाहीका लागि अपराध अनुसन्धान महाशाखाले ललितपुर प्रहरी परिसरमा बुझाएको हो।

परिसरले बिहीबार नै सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी सन्तोष तामाङले जानकारी दिए।

‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लील शब्द प्रयोग गरी गित गाएको भन्दै प्रहरीले पक्राउ गरेको हो।

लामाले प्रहरी पोशाक लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुक प्रोफाइलमा समेत राखेको महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए। रौतहटको चन्द्रनिगाहापुर ४ का २२ वर्षीय लामा हाल झम्सिखेलमा बस्दै आएका थिए।

केही दिन पहिले मात्रै देउसी भैलोको गीत बिगारेको अभियोगमा गायक दुर्गेश थापा पक्राउ परेका थिए। युट्युबबाट गीत हटाउँदै माफी मागे पछि उनलाई त्यही दिन छाडिएको थियो।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *