विस्फोटका घाइतेलाई सुई लगाई बेहोस बनाएर इँटाभट्टामा जिउँदै जलाइएको थियो

६४ चैत : संविधानसभा निर्वाचनको माहोल तात्तिएको थियो । जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट गाउँ फर्किए । बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए । भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफ्ताव आलमका भाइ महताव आलमले साथमा लिइहाले । अफ्तावको चुनावी प्रचारका लागि १८ चैतमा उनी घरबाट निस्किए । आलमको चुनाव सफल भयो, उनी सांसद र मन्त्री पनि भए । तर, होनाहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए ।

२७ चैत, साँझ ६ः१५ बजे : रौतहटकै फरहदवा गाउँ (हालको राजपुर नगरपालिका–२) स्थित शेख इद्रिसको छाप्रोमा बम बन्दै थियो । खासमा विस्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले आलमको योजनामा धमाधम बम बनिरहेका थिए । तर, बम बनिरहेकै ठाउँमा विस्फोट भयो । बम बनाउन भारतबाट ल्याइएका कैयौँ घाइते भए, कैयौँको मृत्यु भयो ।

घाइतेहरू पीडाले छटपटाइरहेका थिए । अस्पताल लग भन्दै गुहार मागिरहेका थिए । तर, आफैँलाई चुनाव जिताउन बम बनाउँदा घाइते भएकाहरूलाई उपचार होइन, ‘व्यवस्थापन’ गर्ने योजनामा पुगे आलम । उनीहरूलाई उपचार गर्ने भनेर सुई लगाइयो, घाइतेहरू बेहोस भए । शान्त भएका सबैलाई एक–एक गरेर बोरामा प्याक गरियो ।

ट्र्याक्टरमा लोड गरेर नजिकैको आलमकै दाजु मुस्ताफको इँटाभट्टामा पुर्‍याइयो । इँटाभट्टामा हालिएका शरीर खरानी बने । खरानी बन्नेमा २२ वर्षीय युवा पिन्टु पनि थिए ।
छोरो विस्फोटमा परेको खबर सुनेपछि पिन्टुका बुबा श्रीनारायण सिंह भोलिपल्ट घटनास्थल पुगे । प्रत्यक्षदर्शीले विवरण सुनाएपछि वृद्ध बाबु छाँगोबाट खसेझैँ भए । बम बनिरहेको ठाउँमा तमासा हेरिरहेका पिन्टु खासमा गम्भीर घाइते भएका थिएनन् । ‘बम विस्फोटपछि उछिट्टिएको छर्रा पिन्टुको तिघ्रामा लागेको थियो ।

आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटी–लखेटी समाते । उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए । बोरामा कोचे । इँटाभट्टामा लगेर जिउँदै खरानी पारे,’ ७९ वर्षीय बाबुले नयाँ पत्रिकासँग भने, ‘इँटाभट्टामा हात अड्किएपछि बन्चरोले गिँडेर भित्र हालेछन् । सामान्य उपचार पाएको भए मेरो छोरो बाँच्थ्यो । जिउँदै जलाए पापीहरूले ।’
स्नातक पढ्दै गरेको छोरा गुमाएका श्रीनारायण बाँसले बारेको झुप्रोमा जीवन बिताइरहेका छन् । आर्थिक र शारीरिक अवस्था नाजुक छ । तर, अनेक हन्डर खाँदा पनि न्याय पाउने आस मारेका छैनन् । ‘पापीहरूले सजाय पाएको यही आँखाले देखेर मात्र अन्तिम सास फेर्ने धोको छ,’ उनले भने ।

पिन्टुसँगै घटनामा घाइते भएका अर्का नेपाली युवक हुन् ओसी अख्तर । उनलाई पनि जिउँदै खरानी पारियो । २१ वर्षका ओसी विवाहित थिए । मगनी हुँदा ओसी नौ वर्षका मात्र थिए, अझ उनकी श्रीमती आस्ना ६ वर्षकी मात्र थिइन् । पछि उनीहरूको बिहे भयो । नयाँ पत्रिका टिमले आस्नालाई उनकै घरमा भेट्यो । उनी भोजपुरी बोल्छिन् । दोभाषेको सहारामा हामीले कुरा गर्दा उनले भनिन्, ‘उहाँ धेरै असल हुनुहुन्थ्यो । हामीले केटाकेटीमै बिहे गरेको, तैपनि उहाँ धेरै जिम्मेवार मान्छे हुनुहुन्थ्यो । मलाई उहाँले खुसीसाथ राख्नुभएको थियो ।’

उनीहरूको छोरा जन्मिए । परिवारको जिम्मेवारी बढेपछि ओसी वैदेशिक रोजगारीका लागि दुबई गए । कमाइ राम्रै थियो । चुनाव हुनु तीन महिनाअघि मात्र उनी गाउँ फर्किएका थिए । ‘उहाँ असाध्यै मिलनसार हुनुहुन्थ्यो । धेरैलाई प्रभावित गर्नुहुन्थ्यो । त्यसैले सबै दलका मान्छे उहाँलाई लिन घरमै आउँथे,’ आस्नाले भनिन्, ‘२७ चैत ०६४ का दिन श्रीमान् घरमै हुनुहुन्थ्यो । उहाँलाई लिन आलमका भाइ आएका रहेछन् । उनीसँगै चुनावी प्रचारमा निस्किनुभयो ।’

आलमका भाइसँग ओसी घरबाट निस्कनासाथ आस्नालाई बाबु समसुल मियाँले फोन गरेका थिए । ज्वाइँ आलमको चुनाव प्रचारमा गएको सुनेर उनी रिसाए । किनकि, आस्नाका बाबु फरक दलका थिए । त्यसैले रिसाउँदै उनी ज्वाइँलाई फर्काउन गाउँतिर लागे । ‘मलाई आलमको परिवारको राजनीति मात्र होइन, आचरण पनि मन पर्दैनथ्यो, त्यसैले उनीहरूको संगतबाट ज्वाइँलाई अलग गराउन चाहन्थेँ,’ ससुरा समसुल मियाँ भन्छन्, ‘घटनास्थल पुग्दा ज्वाइँको कपडा देखेँ ।

उनी पनि विस्फोटमा परेको अड्कल गरेँ । गाउँलेलाई सोध्दा हो भनेर निश्चित भएँ ।’ तर, ओसी घाइते मात्र भएको र उपचार भइरहेको भन्दै समसुललाई तुरुन्त घर फर्कन आलमका मान्छेहरूले निर्देशन दिए । ‘तर, त्यहाँ कुनै पनि घाइते रोएको, चिच्याएको आवाज थिएन । उनीहरूलाई सुई लगाएर उपचार भइरहेकाले ‘डिस्टर्ब’ नगरी घर जान भनेर फेरि धम्क्याएपछि म त्यहाँबाट निस्किएँ । तर, घर जान सकिनँ । नजिकैको गहुँबारीमा लुकेर बसेँ,’ उनले भने ।

बम विस्फोटको ठूलो आवाजले रौतहट नै तरंगित भइसकेको थियो । स्थानीयहरू घटनास्थलतर्फ दौडिँदै थिएँ । आलमका कार्यकर्ताले गाउँ पूरै ‘सिल’ गरिसकेका थिए । बाहिरका मान्छेलाई घटनास्थलतर्फ जान निषेध गरे । छलिँदै पुगेकाहरूलाई ज्यान मार्ने धम्की दिएर फर्किन भने । आलमका कार्यकर्ताबाहेक अरूलाई घरबाट बाहिरिन बन्देज गरियो । एक किसिमले अवैध कफ्र्यु लगाइयो ।

घटनामा मारिएका नेपाली पिन्टु र ओसी हुन् । तर, बम विस्फोटमा जम्मा कति मारिएका थिए भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । किनकि, बम बनाउनेहरू भारतबाट झिकाइएका थिए । उनीहरू करिब २० जना थिए भन्ने गाउँलेको भनाइ छ । तर, प्रहरीले नै अनुसन्धान गर्न भन्दा घटना लुकाउन र प्रमाण नष्ट गर्न लागेकाले मृतकको संख्या निश्चित हुन सकेको छैन ।

बम विस्फोटको सूचना पाएर पनि घटना गुपचुप बनाउन सशस्त्र प्रहरीसमेत मिलेको समसुलको दाबी छ । त्यसवेला रौतहटमा सशस्त्रका एसपी रामकृष्ण लामा थिए । उनले एसपी पदबाट अवकाश पाइसकेका छन् । घटना विवरण सुनाउँदै समसुल भन्छन्, ‘बोरामा प्याक गरिएका घाइते र मृतकका शरीर ट्र्याक्टरमा लोड गरिएको थियो । सशस्त्र प्रहरी भ्यानको स्कर्टिङसँगै ट्र्याक्टर खेततर्फ लाग्यो ।

पछ्याउँदै जाँदा मुस्ताफ आलमको इँटाभट्टामा भ्यान र ट्र्याक्टर रोकियो । त्यसपछि बोरामा प्याक गरिएका रक्ताम्मे शरीर इँटाभट्टामा हालिरहेको देखेँ । भट्टामा नछिरेका शरीरलाई खुकुरी र बन्चरोले छिनाल्दै भित्र हाले । मेरो अनुमानमा १७ भन्दा धेरैलाई खरानी पारे । उनीहरूले थाहा पाएको भए मलाई पनि सिध्याउँथे, त्यसैले सास थाम्दै गहुँबारी हुँदै भागेर ज्वाइँको घर गएँ ।’

त्यसो त श्रीमान् निस्केपछि आस्ना घरधन्दामै थिइन् । गाउँबाट भयंकर आवाज आयो । जमिन नै हल्लियो, उनको मुटु पनि हल्लियो । ‘श्रीमान् घरमा हुनुहुन्थेन, गाउँमा ठूलै अनिष्ट भएझैँ  लाग्यो । मन डरायो, तैपनि खोज्न कहाँ जाने ? राति आउनुहुन्छ भनेर पर्खिएँ, तर श्रीमान् होइन, मेरो बुबा आउनुभयो,’ उनले भनिन्, ‘बुबाले जे खबर सुनाउनुभयो, मेरो संसार अन्धकार भयो ।’ ओसी र आस्नाको एउटा छोरा काखमा र अर्को कोखमा थिए । पेटमा दुई महिनाको गर्भ थियो । ‘पीडाले म बेहोस भएछु । ब्युँझेपछि पनि श्रीमान्को लास देख्न पाइएन । किरिया गर्न पनि सकिनँ,’ उनी भन्छिन् ।

सासु रुक्साना खातुनले आस्नालाई धेरै माया गरिन् । त्यसो त छोराको वियोगमा रुक्साना आफैँ पनि पीडामा थिइन् । उनी अत्याचार सहेर नबस्ने अठोटमा थिइन् । आलमलाई पक्राउ गराउन अड्डा–अदालत धाउन थालिन् । उता, पिन्टुका बाबु श्रीनारायण पनि न्यायको खोजीमा जुटिसकेका थिए । बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर हत्या गरिएको भन्दै आफन्तहरू न्यायको लागि गुहार माग्दै जाँदा रौतहटमा दुर्गाप्रसाद भण्डारी सिडिओ र लक्ष्मण न्यौपाने नेपाल प्रहरीका एसपी थिए । घटनाको अनुसन्धान अधिकृत तत्कालीन इन्स्पेक्टर राजीव बस्नेत थिए ।

हाल उनी डिएसपी छन् । यस्तो गम्भीर घटनाको अनुसन्धानमा सक्रियता देखाउनुको साटो प्रहरीले जाहेरी दर्ता गर्नसमेत मानेन । उल्टै प्रमाण गायब गराउनतर्फ लाग्यो । चर्काे राजनीतिक दबाबका कारण प्रहरीले जघन्य अपराधको अनुसन्धानमा चरम लापरबाही गरेको थियो । तर, प्रमाण नपुगेको भन्दै जिप्रकाले जाहेरी नै लिएन । श्रीनारायण र रुक्साना काठमाडौं पुगे ।

मानअधिकारवादी संघसंस्था र बार एसोसिएसनको टोलीसहित उनीहरू रौतहट फर्किए । तर, मानवअधिकार आयोग, नेपाल बार एसोसिएसन र इन्सेकको टोली गाउँ छिर्न खोज्दा आलमका मान्छेहरूले अवरोध गरे । पछि जोडबल गरेर टोली घटनास्थल पुग्न सफल भयो । तर, त्यतिन्जेलसम्म विस्फोट भएको टहरो पूरै फेरिएको थियो । भित्ता र छानो फेरिएको थियो, भुइँ पोतिएको थियो । गाईलाई खुवाउने भुसा भरेर टहरोमा बाहिरबाट ताल्चा लगाइएको थियो । तैपनि, कहीँकतै बमको छर्रा अझैँ  बाँकी देखिएपछि अनुसन्धान टोलीले बम विस्फोट भएको निष्कर्ष निकालेको थियो ।

त्यतिन्जेलसम्म तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र प्रहरी महानिरीक्षक ओमविक्रम राणा रौतहट पुगेको र उजुरी दर्ता नगराउन जिल्ला प्रहरीलाई दबाब दिएको पीडितहरू बताउँछन् । माथिकै दबाबमा प्रहरीले उजुरी दर्ता गर्न मानेन । त्यसपछि अधिकारकर्मीहरूले ८ वैशाख ०६५ मा हुलाकमार्फत जाहेरी पठाए ।

हुलाकबाट आएको हुनाले उजुरी दर्ता गर्न प्रहरी बाध्य भयो । तैपनि मुद्दा बनाउन आलटाल ग-यो । १८ वैशाखमा प्रहरीले हुलाकबाट आएको जाहेरीलाई मान्यता दियो । अब अनुसन्धानका लागि आलमलाई कुनै हालतमा पक्राउ गर्नुपर्ने भयो । तर, प्रहरीले पक्राउ गर्नुअघि नै भोलिपल्टै आलम आफैँ जिल्ला प्रहरी कार्यालय पुगे । तर, प्रहरीले उनीविरुद्ध प्रमाण नपुगेको भनेर तुरुन्तै घर पठाइदियो ।मानवअधिकारवादीको दबाब बढेपछि प्रहरी औपचारिकता पूरा गर्न लाग्यो ।

अनुसन्धानका लागि घटनातर्फ  पुग्यो र पूरै फेरिएको टहरोको फोटो खिच्यो । घटनास्थलमा भेटिएको केही कपडा पनि संकलन ग-यो । इँटाभट्टाबाट खरानी उठाइयो, तर जुन भट्टामा जिउँदा मान्छेहरू हालिएको थियो, त्यसबाट होइन– अर्कैबाट । यसरी सुल्टो होइन उल्टो अनुसन्धान गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दाको फाइल बुझायो । तर, सरकारी वकिल कार्यालय रौतहटले प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय ग-यो ।

त्यतिवेला रौतहटका जिल्ला न्यायाधिवक्ता रहेका धुव्रमणि ज्ञवाली हाल उच्च सरकारी वकिल कार्यालय वीरगन्जमा सहन्यायाधिवक्ताका रूपमा कार्यरत छन् । पीडितहरू मुद्दा दर्ता गरिपाऊँ भनी महान्यायाधिक्ताको कार्यालय पुगे । तर, महान्यायाधिवक्ताको कार्यालयले समेत सरकारी वकिल कार्यालयकै निर्णयलाई सदर गरेर आलमविरुद्ध मुद्दा नलाग्ने निर्णय गरेको थियो । पीडितहरूले सरकारको सहयोग खोज्दै रौतहट र काठमाडौँ धाउँदा यज्ञमूर्ति बञ्जाडे महान्यायाधिवक्ता थिए ।

तत्कालीन महान्यायाधिवक्ता बञ्जाडेले पुरानो घटना भएकाले आफूलाई धेरै याद नभएको बताए । तर, प्रहरीले नै उजुरी कोविरुद्ध हो भन्ने स्पष्ट नपारेकोेले मुद्दा चलाउन नसक्ने निर्णय गरिएको उनले बताए । ‘प्रहरी अनुसन्धानमा कसले मारेको भनेर उल्लेख नै थिएन । उता, लाससमेत भेटिएनन् । त्यसैले थप अनुसन्धान आवश्यक छ, अहिले नै मुद्दा चलाउन मिल्दैन भनेर मैले निर्णय गरेको हुँ,’ उनले भने, ‘दिनमा हजारौँ निर्णय गर्नुपथ्र्यो, अरू विवरण याद भएन ।’ यति ठूलो घटनाको विषयमा त याद हुनुपर्ने हो नि ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘घटना मिडियाले ठूलो बनाएको हो, हुन त सामूहिक हत्या ठूलै घटना पनि हो ।’

पीडितहरूका लागि एउटै मात्र विकल्प रह्यो, सर्वोच्च अदालतको ढोका । रुक्साना र श्रीनारायण पढे–लेखेका र दुनियाँ जानेका मान्छे होइनन्, गाउँले सर्वसाधारण हुन् । तर, न्यायका लागि रौतहट, हेटौँडा र काठमाडौं धाइरहेका थिए । उनीहरूको आवाजले न्याय पाउने आशा बढ्दै गएको थियो । तर, १० माघ ०६७ मा रुक्साना खातुनलाई गाउँमै गोली हानियो । छोरा गुमाएकी आमा न्यायको लडाइँमा सहिद भइन् ।

मोहम्मद अफ्ताव आलम

त्यो दिन अपराह्न साढे ४ बजे उनी माइतीबाट फर्कंदै थिइन् । नकाव लगाएका व्यक्तिले उनलाई गोली हानेर खेतमा ढलाए । उनलाई देवर नाता पर्ने दुदमियाँ कवारीले गोली हानेको अनुसन्धानमा खुल्यो । तर, रुक्सानाका श्रीमान्ले जाहेरी दिन मानेनन् किनकि आलमले चार कट्ठा जमिन उनको नाममा दिने प्रलोभन दिएका थिए । त्यसैले रुक्सानाको हत्या आलमले गराएका हुन् भनेर अहिलेसम्म पुष्टि हुन  सकेको छैन । जिप्रका रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले भन्छन्, ‘यो घटनामा आलम पनि जोडिन्छन् कि भनेर हामीले बल्ल अनुसन्धान गर्दै छौँ । किनकि त्यतिवेला जाहेरी नै परेन ।’

रुक्सानाको हत्या भएपछि श्रीमान्ले अर्की श्रीमती ल्याए । आस्ना आफ्नै घरमा बेसहारा भइन् । उनको गर्भको बच्चा जन्मिएर अहिले १२ वर्षको भएका छन्, ठूलो छोरा १४ वर्षका छन् । दुवै बच्चा साना भएकाले पालनपोषणमा ठूलै समस्या छ । उनी भन्छिन्, ‘सासूको पनि हत्या भएपछि मैले धेरै दुःख पाएँ, केही सीप नलागेपछि माइतीको शरणमा पुगेकी छु ।

माइतीमा पनि फुसको झुप्रो छ । वास त भएको छ तर, स्कुल पढाउन सकेकी छैन । शिक्षा त उनीहरूले पाएनन्, अल्लाहसँग दुवा माग्छु, छोराहरूको स्वास्थ्य राम्रो होस् ।’रुक्सानाको हत्यापछि पनि न्यायको लडाइँ रोकिएन । ओसीका बाबुले मुद्दा छोडे पनि पिन्टुका बाबुले छोडेनन् । उनकै पहलमा सर्वोच्चमा मुद्दा प-यो । महान्यायाधीवक्ताको कार्यालयले मुद्दा चलाउन नमानेको भन्दै पीडितहरू सर्वाेच्च अदालतमा पुगेका हुन् ।

तर, लक्ष्मण न्यौपानेपछि प्रहरी प्रमुखका रुपमा रौतहट पुगेका जयबहादुर चन्दले पनि आलमलाई जोगाउन भूमिका खेलेका थिए भन्ने मुद्दाको मिसिलबाटै प्रस्ट हुन्छ । किनकि, उनले यति ठूलो जघन्य अपराधलाई ‘कपोकल्पित घटना’ भनेका थिए । महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि त्यसउपर सर्वाेच्चमा रिट परेको थियो । त्यसबारे सर्वोच्चले जवाफ माग गरेपछि तत्कालीन एसपी चन्दले सर्वोच्चलाई लिखित जवाफमै यस्तो भनेका थिए, ‘कपोलकल्पित व्यहोरा उल्लेख गरी सम्मानित अदालतसमक्ष दर्ता भएको रिट निवेदन खारेजभागी छ, खारेज गरिपाऊँ ।’ चन्दले एआइजीबाटै अवकाश पाइसकेका छन् ।

सर्वोच्चलाई दिएको जवाफको विषयमा नयाँ पत्रिकाले उनीसँग प्रतिक्रिया मागेको थियो । तर, सो घटना आफू रौतहट जानुभन्दा अघि नै भएकाले त्यसमा आफ्नो कुनै भूमिका नभएको उनले बताए । ‘म रौतहट जानुअघि नै सो घटना भएको र मुद्दासमेत प्रहरीले बुझाइसकेको थियो, त्यसकारण त्यसबारे मलाई धेरै जानकारी छैन ।’ सर्वाेच्चलाई लेखिएको जवाफबारे याद नभएको उनको भनाइ छ ।

तर, १६ जेठ ०६९ मा सर्वाेच्चका तत्कालीन न्यायाधीश सुशीला कार्की र भरतराज कार्कीको इजलासले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर ग¥यो । इजलासले घटनालाई गम्भीर प्रकृतिको भन्दै सम्पूर्ण रुपमा अनुसन्धान गर्न प्रहरीलाई आदेश दियो । तर विडम्बना, सर्वोच्चको आदेश पनि जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरीले अटेर गरिरहे । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयल पाँचपटकसम्म ताकेता पनि ग-यो । तर, कार्यान्वयन भएन ।

छैटौँपटक ताकेता आउँदा एसपी भूपेन्द्र खत्री जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर आइपुगेका थिए । फैसला कार्यान्वयन निर्देशनालयको ताकेता, पीडितको विलौना र अफ्तावको पृष्ठभूमि अध्ययनपछि प्रहरी आलमलाई पक्राउ गर्ने निर्णयमा पुग्यो । तर, स्थानीयबाट अवरोध हुनसक्ने अनुमान थियो । अफ्तावलाई पक्राउ गरेपछि निम्तिनसक्ने सुरक्षा चुनौतीबारे जिल्लास्थित सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच छलफल भयो ।

पक्राउ गर्नका लागि २६ असोज आइतबार रोजियो, किनकि यो दिन राजपुर फरहदवा–४ मा आलमका आफन्तको बिहे थियो । निम्तो मान्न आलम पनि गाउँ फर्किएको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गाउँ घे-यो । गाउँ नियन्त्रणमा छ भन्ने सुनिश्चित भएपछि मात्र प्रहरी आलमको घरतर्फ अघि बढेको थियो । तब पनि एसपी भूपेन्द्र खत्रीलाई उनी भन्दै थिए, ‘ए ! एसपी तिमी को हौ ? म आइजी बनाउने ताकत राख्छु । पक्राउ गरेर ठूलो गल्ती ग-यौ छुटेर आएपछि देखाइदिन्छु ।’

आलमलाई पक्राउ गरेर गौरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पूर्वानुमानअनुसार फरहदवामा प्रदर्शन सुरु भयो । चोक–चोकमा टायर बालियो । नारा–जुलुस भए । त्यतिन्जेलसम्म जनकपुरबाट थप प्रहरी बल ल्याइएको थियो । अहिले स्थिति नियन्त्रणमा छ । तैपनि प्रहरी चनाखो छ ।

 भारतमा स्नातक पढ्दै गरेका छोरा अनाहकमा मारिएपछि न्यायको संघर्षमा ७९ वर्षीय बाबु


भाषणकलामा तेज त्रिलोकप्रताप सिंह (पिन्टु)लाई मोहम्मद अफ्ताव आलमका भाइ महताव आलमले साथमा लिइहाले । अफ्तावको चुनावी प्रचारका लागि १८ चैतमा उनी घरबाट निस्किए । आलमको चुनाव सफल भयो, उनी सांसद र मन्त्री पनि भए । तर, होनाहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए । न्यायका लागि १२ वर्षदेखि संघर्षमा छन् पिता श्रीनारायण सिंह ।

 तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडे जसले आलमविरुद्ध मुद्दा चलाउन पीडित परिवारले दिएको निवेदन खारेज गरिदिए
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्न नमानेपछि मृतकका परिवार महान्यायाधिवक्ताको कार्यालयमा आएका थिए । तर, महान्यायाधिवक्ताको कार्यालयले पनि आलमविरुद्ध मुद्दा नलाग्ने ठहर गरेको थियो ।

‘प्रहरी अनुसन्धानमा कसले मारेको भनेर उल्लेख नै थिएन । उता, लाससमेत भेटिएनन् । त्यसैले थप अनुसन्धान आवश्यक छ, अहिले नै मुद्दा चलाउन मिल्दैन भनेर मैले निर्णय गरेको हुँ,’ तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडे भन्छन्, ‘दिनमा हजारौँ निर्णय गर्नुपथ्र्यो, अरू विवरण याद भएन ।’ यति ठूलो घटनाको विषयमा त याद हुनुपर्ने हो नि भन्ने प्रश्नमा उनको जवाफ छ, ‘घटना मिडियाले ठूलो बनाएको हो, हुन त सामूहिक हत्या ठूलै घटना पनि हो ।’

 

तत्कालीन एसपी जयबहादुर चन्द जसले पीडित परिवारले दिएको मुद्दा खारेज गरिपाऊँ भनी सर्वोच्चलाई लिखित दिएका थिए
लक्ष्मण न्यौपानेपछि प्रहरी प्रमुखका रूपमा रौतहट पुगेका जयबहादुर चन्दले पनि आलमलाई जोगाउन भूमिका खेलेका थिए भन्ने मुद्दाको मिसिलबाटै प्रस्ट हुन्छ । किनकि, उनले यति ठूलो जघन्य अपराधलाई ‘कपोकल्पित घटना’ भनेका थिए । महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि त्यसउपर सर्वाेच्चमा रिट परेको थियो ।

सर्वोच्चले जवाफ माग गरेपछि रौतहटका तत्कालीन एसपी चन्दले लिखित जवाफमै यस्तो भनेका थिए, ‘कपोलकल्पित व्यहोरा उल्लेख गरी सम्मानित अदालतसमक्ष दर्ता भएको रिट निवेदन खारेजभागी छ, खारेज गरिपाऊँ ।’ चन्दले एआइजीबाटै अवकाश पाइसकेका छन् ।

 श्रीमान्लाई भट्टामा पोलियो, न्यायको लडाइँ लडिरहेकी सासूलाई गोली हानेर मारियो

  • बम विस्फोटमा घाइते भएका श्रीमान् ओसी अख्तरलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गर्दा आस्नाको काखमा दुई वर्षका छोरा थिए, कोखमा दुई महिनाको गर्भ । कोखको बच्चा जन्मिएर १२ वर्ष भएका छन् ।
  • ओसीकी आमा न्यायका लागि संघर्ष गर्दै रौतहटदेखि काठमाडौँसम्म धाइन् । सर्वोच्चको ढोका ढक्ढक्याइन् । तर, त्यहीबीचमा गाउँमै गोली हानेर उनको हत्या गरियो । छोरा गुमाएकी आमा न्यायको लडाइँमा सहिद भइन् ।

 प्रत्यक्षदर्शी समसुल मियाँ भन्छन्, ‘भट्टाभित्र नछिरेका घाइतेलाई हात गिँडेर धकेलियो’


बोरामा प्याक गरिएका घाइते र मृतकका शरीर ट्र्याक्टरमा लोड गरिएको थियो । प्रहरी भ्यानको स्कर्टिङसँगै ट्र्याक्टर खेततर्फ लाग्यो । पछ्याउँदै जाँदा मुस्ताफ आलमको इँटाभट्टामा भ्यान र ट्र्याक्टर रोकियो । त्यसपछि बोरामा प्याक गरिएका रक्ताम्मे शरीर इँटाभट्टामा हालिरहेको देखेँ । भट्टामा नछिरेका शरीरलाई खुकुरी र बन्चरोले छिनाल्दै भित्र हाले ।

 तस्बिर : विनोद विष्ट/ नयाँ पत्रिका दैनिकबाट साभार गरिएको 

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *