पत्रकारसँग दोस्रोपटक रिसाए प्रधानमन्त्री : आफूभन्दा ठूलालाई पनि ‘तिमी’ भन्ने ?

मिडियाले उच्च आदरार्थी शब्द ‘तपाईं’, ‘हजुर’ प्रयोग नगरेको भन्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले मर्यादापालन नगरेको टिप्पणी गरे । उनले ‘सानालाई तिमी र ठूलालाई तपाईं’ भन्ने नेपाली समाजको प्रचलन भएको जिकिरसमेत गरे । मिडियाले समाचारमा सबैलाई समान आदरार्थी ‘तिमी’ प्रयोग गरेकोप्रति प्रधानमन्त्रीको यो दोस्रोपटकको आक्रोश हो । विज्ञहरूले प्रधानमन्त्रीको यस्तो आक्रोशलाई ‘अतिरिक्त सम्मान खोज्ने आकांक्षा’का रूपमा अथ्र्याएका छन् ।

प्रधानमन्त्री ओलीको परिचय नै आलोचक र विरोधीहरूप्रति कठोर र निर्मम अभिव्यक्ति दिने नेताका रूपमा बनेको छ । तर, सत्तारुढ भइसकेपछि विरोधी समूह र विपक्षी दलप्रति मात्रै होइन, स्वतन्त्र मिडियाप्रति पनि उनी वेलावेला रुष्ट र कठोर देखिने गरेका छन् । मंगलबारको उनको आक्रोश त्यसैको पछिल्लो कडी बनेको छ । मिडियाको स्वतन्त्र भूमिका खुम्च्याउने गरी तयार गरिएको ‘मिडिया काउन्सिल विधेयक’बारे बोल्दा पनि प्रधानमन्त्रीले मिडियालाई नियमन गर्नुपर्ने भन्दै जानीबुझी विधेयक ल्याएको बताएका थिए ।

पत्रकारहरूले चौतर्फी रूपमा विधेयकको विरोध गरिरहेका वेलामा प्रधानमन्त्री ओलीले सरकारले सोचिविचारी त्यसलाई अघि बढाएको प्रतिक्रिया मात्रै दिइरहे । समाजलाई सभ्य बनाउन विधेयक ल्याएको भन्दै संसद्भन्दा अघि गएर विरोध नगर्न उनले चेतावनी दिएका थिए । मिडियाप्रतिको उनको आक्रोश वेलावेला झल्किने गर्छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको चीन र दक्षीण एसिया साहित्य सम्मेलनको उद्घाटनमा बोल्दै उनले भाषा–संस्कृतिको सन्दर्भमा आदर–अनादर प्रसंग उठाएका हुन् ।

ओलीले विशष गरी पत्रपत्रिका र टेलिभिजनमा प्रयोग गरिने भाषाप्रति असन्तुष्टि जनाए । ओलीले भने, ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैन । तिमीभन्दा माथि उठ्दैन । सानालाई तिमी भन्ने ठूलालाई तपाईं भन्ने स्वाभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ, मर्यादा हुन्छ ।’ अंग्रेजीको ‘यू’ भन्ने शब्दको लोभ गरेर आफ्नो बाउलाई पनि तपाईं भन्न गाह्रो भइरहेको ओलीको भनाई थियो । पैसावाला, डलरवाला, युरोवालाले काम चलाएको ‘यू’ नै सभ्यता रहेछ भन्ने भ्रम परेको समेत उनले चर्चा गरे ।

३ असारमा ओलीले भनेका थिए– सबैलाई तिमी भनेर नेपाली भाषाको मर्म बिगार्ने ? ‘तिमी’ र ‘तपाईं’को प्रयोगलाई लिएर प्रधानमन्त्री ओलीले पत्रकारलाई कटाक्ष गरेको यो पहिलो उदाहरण होइन । यसअघि पनि उनले यस्तै सन्देश दिने खालको धारणा राखेका थिए । गत ३ असारमा प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन थियो । प्रतिपक्षको अवरोधका कारण संसद्मा बोल्न नपाएपछि उनले पत्रकार सम्मेलन गरेरै आफ्ना भनाइ राखेका थिए । त्यहाँ उनले भनेका थिए– ‘सञ्चारमाध्यमले बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबुबालाई पनि तिमी । सबैलाई तिमी भन्छन् । यो त नेपाली भाषाको मर्मविपरीत भयो ।’

मिडियाले नेताहरूलाई सम्बोधन गर्ने ‘तिमी’ पदप्रति उनको चित्त बुझाइ छैन भनेर बुझ्न गाह्रो पर्दैन । पत्रपत्रिका, टेलिभिजन, रेडियोजस्ता सञ्चारमाध्यमले अहिले नेतासँग प्रत्यक्ष कुराकानीमा बाहेक सबैलाई समान आदरवाची पद ‘तिमी’ लेख्ने प्रचरलन छ । यसलाई पश्चिमा समाजको सिको गरेर नेपाली मिडियाले सबैलाई तिमी भन्ने गरेको ओलीको गुनासो छ ।

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– मिडिया आलोचनाको घेराबाहिर हुँदैन

प्रधानमन्त्रीको अभिव्यक्तिलाई नकारात्मक रूपमा नलिन उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले सुझाए । मिडिया प्रयोगकर्ता भएकाले प्रधानमन्त्रीलाई एउटा स्वतन्त्र व्यक्तिको रूपमा पनि बुझिनुपर्ने उनको भनाइ छ । एउटा व्यक्तिको रूपमा प्रधानमन्त्रीले पनि मिडियालाई सल्लाह दिन पाउनुपर्ने अर्यालको जिकिर छ । ‘लोकतान्त्रिक समाजमा मिडिया पनि आलोचनाको घेराभन्दा माथि हुँदैन,’ उनले भने ।

‘हाम्रो भाषा यति समृद्ध छ, सुन्दर छ । नेपाली भाषा हाम्रो पुर्खाले यति समृद्ध बनाए, तर त्यसको प्रयोग मिडियाले पनि त्यही ढंगले प्रयोग गरेर अझै समृद्ध बनाउनुपर्याे नि,’ अर्यालले भने, ‘केटाकेटीलाई तिमीभन्दा जति मजा आउँछ, प्रौढ मान्छेलाई त्यही सम्बोधन गर्दा राम्रो हुँदैन ।’

‘प्रधानमन्त्रीले थप सम्मान खोज्नु बेकार’
मंगलबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा मत बाँडिएको छ । धेरैले उनको आलोचना गरेका छन् । प्रधानमन्त्री आफैँले थप सम्मान खोजेको रूपमा पनि यसलाई अथ्र्याइएको छ । भाषाविद् राम लोहनीले ‘तिमी’, ‘उनी’ प्रयोग गर्दा अनादर हुन्छ भन्नुलाई बेकारको तर्क भएको बताए । उनले यसलाई अनौपचारिक रूपमा तटस्थ भाषाका रूपमा अथ्र्याए ।

‘क्रियापदमा बहुबचन प्रयोग भएको छ, त्यो भनेको थप सम्मान नै हो । त्यसभन्दा पनि बढी अपेक्षा गर्नु बेकार हो,’ लोहनीले भने । पत्रकारहरूले प्रधानमन्त्रीको अपेक्षामा ‘समस्या’ रहेको बताइरहेका छन् । राजामहाराजाको जस्तो सम्मान चाहिएको भन्दै उनीविरुद्ध सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा आलोचना पनि भइरहेको छ । पत्रकार शिव गाउँलेले मिडियामा प्रयोग भइरहेको समानआदरार्थी ‘तिमी’ शब्दलाई कसैलाई अतिसम्मान र कसैलाई अतिअपमान नहुने गरी एकरुपता अपनाउनका प्रयोग गरिएको बताए ।

फरक–फरक भाषा प्रयोग गर्दा एकरुपता कायम नरहने उनको भनाइ छ । गाउँलेले भने, ‘समाजमा सबै मान्छेको सार्वजनिक दायराभित्र रहेर कोही मान्छेलाई अतिसम्मान गर्न वा अतिअपमान गर्ने गरी जुन शब्द प्रयोग गरिन्छ त्यो नगरेर सबैलाई सम्मान दर्जा प्रयोग गर्नका लागि यो भाषा प्रयोग गरिएको हो ।’

भाषाविद् लोहनीले भाषालाई औपचारिक र अनौपचारिक दुई तरिकाबाट व्याख्या गरिने भन्दै औपचारिकतामा अतिआदरार्थी ‘तपाईं’ भनेर बोलिए पनि अनौपचारिक रूपमा ‘तिमी’
‘उनी’ भन्नु नै ठीक हुने तर्क गरे । ‘क–कसलाई तपाईं भन्ने कसलाई तिमी भन्ने विवाद हुन्छ, यसले समस्या निम्त्याउँछ,’ उनले भने, ‘प्रधानमन्त्रीलाई सम्मान गर्ने, मन्त्रीलाई नगर्ने ? सभामुखलाई गर्ने, उपसभामुखलाई नगर्ने ? कि सबैलाई गर्नुप-यो । यस्तो खालको विवादबाट मुक्त हुन यस्ता शब्दावली प्रयोगमा आउँछ । मन्त्री वा राष्ट्रपति हुँदैमा भाषामा अतिरिक्त सम्मान पाउने सर्वसाधारण जनता हुँदैमा कम सम्मान पाउने भन्ने त हुँदैन ।’

नयाँ पत्रिका दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *