महिला भलिबल टिम थाईल्याण्ड प्रस्थान

काठमाडौं : अन्तराष्ट्रिय प्रशिक्षण तथा अभ्यास खेलका लागि राष्ट्रिय महिला भलिबल टिम थाईल्याण्ड उडेको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग तथा बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता खेल्ने तयारीमा रहेको महिला भलिबल टिम आज (बुधबार) थाईल्याण्ड प्रस्थान गरेको हो ।

१८ खेलाडी, तीन प्रशिक्षक र १ व्यवस्थापक गरी २२ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली टोलीले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि एसियाकै उत्कृष्ट एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणको मौका पाएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोग र नेपाल भलिबल संघको समन्वयमा नेपालले करिव २६ दिन थाइल्यान्डमा प्रशिक्षणका साथै केही अभ्यास खेल खेल्ने मौका पाएको हो । नेपाली महिला भलिबल इतिहासमा सम्भवत यो नै सबैभन्दा लामो र पहिलो वैदेशिक प्रशिक्षण हो । टोलीलाई नेपाल भलिबल संघले मंगलबारै टोलीलाई बिदाई गरेका थिए ।

नेपालले करिव २६ दिन थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै ७ भन्दा बढी केही अभ्यास खेल खेल्नेछन् । थाइल्यान्डको प्रशिक्षणपछि नेपाली टोली काठमाडौं फर्किएर प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि बंगलादेश जानेछन् । सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा आयोजना हुदैछ । त्यसपछि नेपाल १३औं सागको तयारीमा जुट्नेछ । साग मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुदैछ ।

राखेप सदस्यसचिव रमेश कुमार सिलवालले मंगलबार टोलीलाई बिदाई गर्दै बैंकक घुम्ने अवसरको मात्रै रुपमा नलिइ तयारी प्रभावकारी ढंगले गर्न आग्रह गरेका छन् । संघका महासचिव जितेन्द्र बहादुर चन्दले पनि थाइल्यान्ड घुम्नका लागि नभएर केही सिक्नलाई रहेको भन्दै तयारीलाई विशेष जोड दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *