कर्णालीको पर्यटकिय केन्द्र, हिमालपारिको रानीखर्क

हुम्ला : भौगोलिक विकटता र विपन्नताले गाँजिएको भए पनि प्राकृतिक रूपमा कर्णाली भरिपूर्ण छ । अझ सडक सञ्जालबाट टाढा रहेको कर्णालीको हुम्ला त पद यात्राका लागि ‘भर्जिन ल्यान्ड’कै रूपमा लिइन्छ । त्यसकै एक हिस्सा हो, सैपाल हिमालको उत्तरी काखमा अवस्थित रानीखर्क ।

नाम्खा गाउँपालिका–३ स्थित रानीखर्कबाट हिमालहरू दक्षिणमा देखिन्छन् । सात हजार ३१ मिटर उचाइको सैपाल हिमाल पनि दक्षिणमा ठिंग उभिएको हेर्दा चकित परिन्छ । सैपालबाट सातवटा नदी निस्किन्छन् । बझाङतर्फ सेती नदीसँगै उरै लेक भएर धुली, परालखेत हुँदै जिमाना र राइढुंगा हुँदै धोलीगाड सैपालको दक्षिणतिरबाट निस्किन्छन् । सैपालको उत्तरतिरबाट हुम्लातर्फ चालाखोला हुँदै कारङखोला र रानीखर्क हुँदै मैला र कवाडी खोला बग्छन् ।

हिउँ बोकेर हुइँकिने मैला र कवाडी खोला सैपालको उत्तरतिरबाट रानीखर्क हुँदै दक्षिणतिरै लाग्छन्, जसले रानीखर्कलाई रमणीय र रंगीन बनाएका छन् । सैपालको फेदमै रानीखर्कलाई सुन्दर बनाउन हिमताल पनि अडिएको छ । जसलाई लामाहरूले घाङरी झोलुङ्छो भन्छन् । तीन हजार पाँच सय ७८ मिटरको उचाइमा रहेको यो ताललाई बाह्रै महिना हिउँले छोप्ने गरेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा बताउँछन् । ‘आजभोलि तालमा सङ्लो पानी देख्न सकिन्छ, पहिले–पहिले त पानी नै देखिँदैनथ्यो,’ अध्यक्ष लामा भन्छन् ।

अजङ्ङका पहाडबीच बर्सातमा हरियो र हिँउदमा सेतो कार्पेट बिछ्याएझैं देखिन्छ, रानीखर्क । वन्यजन्तु, चराचुरुंगी र बोटबिरुवाले झन् रमणीय बनाएको छ । वसन्त र शरद्मा फुल्ने थरीथरीका फूलले पूरै क्षेत्र अत्तर छर्किरहेझैं लाग्छ । आँखैअगाडि ठिंग उभिएका सेताम्य हिमाल र हिउँ पग्लेर बगेका खोलानालाको कलकल ध्वनिले मन्त्रमुग्ध पार्छ ।

रानीखर्क पुग्दा दुःख, पीडा बिर्सिने गरेको सर्केगाडका अंग फडेरा सुनाउँछन् । ‘यो रानीखर्क स्वर्गजस्तै लाग्छ,’ फडेरा भन्छन् । नाम्खा गाउँपालिका–३ का वडाध्यक्ष छपाल लामा जति हेरे पनि धित नमर्ने गरेको बताउँछन् । ‘होचै होचो देखिने हिमाल, बुकी, एकनासको घाँस र फूलैफूलले टम्म परेको रंगीन फाँट हेरिरहूँजस्तो लाग्छ,’ लामा भन्छन् । जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँचऔँले, सेतो चिनी, यार्सागुम्बालगायतका जडीबुटी यहीँ फाँटमा पाइन्छ ।

प्रचार नभएकाले यसको सुन्दरता ओझेलमा परेको बौद्धधर्म गुरु पेमा रिक्साल (रिम्पोच्छे) बताउँछन् । भारतको दार्जिलिङ, सिकिमभन्दा पनि सुन्दर रहेको बताउँदै रिम्पोच्छे भन्छन्, ‘फिल्म, वित्तचित्र, म्युजिक भिडियो सुटिङका लागि एकदम राम्रो ठाउँ हो ।’ प्रचार–प्रसारको अभावले यसलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन नसकिएको गाउँपालिका अध्यक्ष लामाको भनाइ छ । ‘अब यसलाई देशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्य बनाउन योजना बनाउँछौँ,’ उनी भन्छन् ।

बर्सातमा गोठालो
रानीखर्क वर्षायाममा गोठाला र चौपायाले भरिन्छ । समथर फाँटमा टाढा–टाढाबाट चौँरी, भेडाबाख्रा लिएर गोठालो आउने गरेका छन् । अहिले सात हजारभन्दा बढी भेडाबाख्रा, एक हजारभन्दा बढी चौँरीगाईले र तिनका गोठालाले रानीखर्क भरिभराउ छ । वैशाख लागेसँगै रानीखर्कतर्फ लाग्ने गोठालो भदौ लागेपछि मात्रै तल झर्ने गरेका छन् । यो क्षेत्र सुदूरपश्चिमको बाजुरा र कर्णालीको हुम्लाका बासिन्दाको साझा चौर नै बनेको छ ।

कसरी पुग्ने ?
हुम्लासँगै बाजुरा र बझाङबाट रानीखर्क पुग्न सकिन्छ । सबैभन्दा सहज हुम्लाबाटै हुन्छ । सडक सञ्जाल नभएकाले नेपालगन्जबाट जहाजमा हुम्ला सदरमुकाम सिमिकोट ओर्लिनुपर्छ । त्यहाँबाट पदैल यात्रा सुरू हुन्छ । सिमिकोटबाट दुई दिन हिँडेर नाम्खाको खगालगाउँ हुँदै रानीखर्क पुग्न सकिन्छ । हिमालको फेद भएकाले न्यायो लुगा चाहिन्छ नै । बर्सातमा गोठालो लाग्ने भएकाले खानेकुरा पाउन सकिन्छ । अन्य याममा भने आफैंले खानेकुरा बोकेर हिँड्नुपर्छ ।

कति खर्च लाग्छ ?
नेपालगन्जबाट सिमिकोट पुग्न हवाईजहाजबाट १० हजार रुपैयाँ लाग्छ । सिमिकोटमा वास बस्न वा सीधै रानीखर्कका लागि हिँड्न पनि सकिन्छ । सिमिकोटमा सादा खानाको तीन सय ५० रुपैयाँ पर्छ । त्यहाँबाट रानीखर्क पुगेर फर्किने हो भने चार दिनमा सात–आठ हजार रुपैयाँ भए पुग्छ । सिमिकोटभन्दा माथि हिँड्दा एक सय रुपैयाँमा पेटभरि खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *