भारतमा भइरहेको चुनावलाई नेपालले कसरी लिने ?

भारतमा अहिले भइरहेको आम चुनाव सरकार परिवर्तनका लागि मात्र नभएर भारतको राजनीतिक र दार्शनिक दिशा निर्देशको लागि पनि निर्णायक रहेको छ । यो चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिस्पर्धीहरु देखिएका छैनन् । प्रधानमन्त्रीको रुपमा एउटै उम्मेदवार मोदी हुन् । भारतीय जनता पार्टी प्रधानमन्त्री मोदीको नाममा चुनाव लडिरहेको छ । यसरी नेहरु र इन्दिरा गान्धीपछि भारतको राजनीति एउटा राष्ट्रिय नेताको छत्रछायामा भएको छ ।

पाँचवर्ष अगाडि भारतमा सरकार परिवर्तन भएको मात्र थिएन, भारतको राजनीतिको मूल आधार पनि परिवर्तन भएको थियो । भारतको स्वतन्त्रता आन्दोलनदेखि निरन्तर रुपमा राष्ट्रिय राजनीतिको नेतृत्व गरिरहेको कांग्रेस पार्टी संसदमा प्रमुख प्रतिपक्षीको हैसियतपनि गुमाएर कमजोर भएको थियो । यसपालिको चुनावी प्रक्रिया अगाडि बढिरहेको बेलामा प्रधानमन्त्री नरेन्द्र मोदीको पक्षमा अमेरिका र चीन दुवैले मतदान गरेका छन् ।

विगत दुई दशकदेखि पाकिस्तानका नागरिक मसूद अजहरलाई आतंककारी घोषणा गर्न भारतले पहल गरेको थियो । सन् १९९९मा काठमाडौंबाट उडेको भारतीय विमान अपहरण र सन् २००८ को मुम्बई आक्रमणको नाइके अजहरलाई आतंककारी घोषणा गराउने प्रयासमा भारतीय कुटनीति विगत दुई दशकदेखि सक्रिय थियो । तर, चीनको अड्कोले सफल हुन सकेको थिएन । अहिले चुनावकोे अन्तिम प्रक्रिया चलिरहेको बेलामा चीनले साथ दिएपछि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्बाट अजहर आतंककारी घोषित भएको छ । यो  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुटनीतिक सफलता हो । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री मोदीको बीचमा विश्वासको सम्बन्ध बलियो भइरहेको प्रमाणका रुपमा यसलाई लिन सकिन्छ । यसैगरी, एशियाली सामरिक रचनामा भारतलाई मियोको रुपमा स्वीकार गरेर अमेरिकाले मोदीको कुटनीतिक हैसियत स्वीकार गरेको छ  ।

यसरी यो चुनावमा अमेरिका र चीन दुवैले मोदीलाई साथ दिएका छन् ।

नेपाल प्रसंग

भारतीय राजनीतिको मानसिक दिशा र परिवर्तन नेपालले बुझ्न सकेको छैन । मोदीको ५ वर्षको कार्यकाल नेपालले साबिक बमोजिमको व्यवहारद्वारा खेर फाल्यो । अहिले भारतीय जनता पार्टीको चुनावी घोषणा पत्रमा उल्लेखित दिशा निर्देशलाई नेपालले बुझ्न सकेको देखिँदैन । मूलतः यो चुनावी घोषणापत्रमा नेपालको दृष्टिबाट दुईवटा पक्ष छन् ।

पहिलो, भारत हिन्दू राष्ट्रवादको विशेषतालाई मार्गदर्शनको रुपमा लिएर अघि बढ्न खोजेको छ । नेपाल आफ्नो राष्ट्रिय संस्कृति, धर्म, संस्कार र परम्परालाई बिर्सेर हिंडिरहेको छ । भारत हिन्दु राष्ट्रवादलाई प्रधानमन्त्री मोदीको नेतृत्वमा आगामी ५ वर्ष भारतीय संस्कृति र हिन्दु संस्कृतिलाई आधार बनाएर अगाडि बढ्दैछ । नेपाल अहिले परिभाषित हुन नसकेको धर्म निरपेक्षतालाई बोकेर हिंड्ने प्रयासमा छ । दोस्रो कुरा भारत राष्ट्रवादबाट अगाडि बढिरहेको छ । यसैगरी अमेरिका र चीनपनि राष्ट्रवादबाट निर्देशित रहेका छन् । तर, नेपाली राष्ट्रवाद निरन्तर कमजोर भएर गएको छ ।
चुनावपछिको भारत नेपालका लागि अवसर र चुनौति दुवै हुनेछ । विश्व राजनीतिमा बढ्दै गएको भारतीय प्रभावले नेपालको लागि नयाँ अवस्था सिर्जना गरेको छ ।

नेपाल राजनीतिक स्थायित्व, प्रजातान्त्रिक संस्थाहरुलाई जीवन्त बनाएर तथा प्रजातान्त्रिक प्रक्रियाहरुलाई सक्रिय तुल्याएर शक्ति पृथकीकरणको प्रजातान्त्रिक पद्धतिलाई पालना गरेर अगाडि बढ्न सके भविश्य सुखद् हुनेछ ।

अन्यथा, अहिले नेपालमा भइरहेको छैठौं संवैधानिक अभ्यासपनि बिथोलिने र नेपाल एकचोटी फेरि अस्थिरताको बाटोमा धकेलिनेछ । यसक्रममा विगत र भविश्यमा फरक हुन सक्नेछ । विगतमा एउटा मात्रै विदेशी शक्ति नेपालमा सक्रिय थियो । अहिले  भारत, चीन र अमेरिका समेत तीन शक्तिको सामाजिक राडारभित्र नेपाल परिसकेको छ । यी तीन वटा शक्तिहरुको चाहनालाई सन्तुलन मिलाउन नसके नेपाल विवादको तातो भुँमरीमा फस्नेछ ।

रमेशनाथ पाण्डे

(पूर्वपरराष्ट्रमन्त्रीपाण्डेसँग बाह्रखरीको कुराकानीमा आधारित–तस्बिर पाण्डेको फेसबुकबाट)

यो सामग्री १२ खरी डटकमवाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *