१७ बर्षपछि फर्किएको खुसी

रोल्पा : ‘मलाई हिजोका दिनहरु केहि याद छैन।   बुवा ईन्डिया गएको केहि दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदि र म मात्र घरमा भयौ।   दाई र भाइ कता थिए सम्झना छैन। ’ तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ बर्ष अगाडि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा ईन्डियाबाट आए पछि पनि घर नआउने कता कता जाने गर्नु हुन्थ्यो।   यस्तैमा दिदि मनमाया माओवादीमा लागिन।   पछि पछि बन्दुक बोकेर घर आउन थाल्नु भयो।   यस्तैमा एक दिन मलाई पनि आफुसंगै लग्नु भयो।’

मनमायासँग माओवादीको साथ हिडेका उनलाई केहि समय पछि कसैले तेरो दिदि भिडन्तमा मरि भनिदिए पछि माओवादीबाट भागेर हिडेको उनी बताउँछन।   ‘तेरो दिदि लडाईमा मरि भनिदिए।   माओवादीले धेरै ठाउँ घुमाए।   दु:ख दिए।   अति भए पछि त्यहाँबाट भागेर हिडे। ’

‘कहाँ कुन बाटोबाट कता पुगे केहि याद छैन।   हराएको केहि समय पछि तराईको एउटा चौधरी बस्तीमा पुगे।   घर पुर्‍याईदेउ भन्दा सबैले मेरा घरमा काम गर खान दिन्छु भन्दा अरु केहि भनेनन्।   घर र परिवारको खोजिमा कयौ रात भोकै गल्लीमा सुते।   कसैले केरा खाएको हेरिरहन्थे अनि त्यहि फालेको बोक्रा टिपेर खान्थे।   सानो थिए पेट पाल्ने गरि काम गर्न पनि सक्दैनथे।  ’ काला दिनहरु संम्झीदै गर्दा भक्कानिएका उनले अलि ठूलो भए पछि भारतमा मजदुरी गरेको बताउँछन।   ‘गएको १७ बर्षमा धेरै रात बिद्यालयहरुमा सुतेर बिताए।  ’

मजदुरी गरेर अलि अलि पैसा जम्मा गरेका कालेले घर खोज्दैमा सकिएको बताउँछन।   बिचमा बिरामि परेर एपेन्डीसाईटिसको अप्रेसन गरे पछि बचेको पैसा सबै सके।   पछिल्लो समय चौधरीहरुको गु्रपमा रहेर धनगढीमा मजदुरी सुरु गरेका थिए।   मजदुरी गर्दै गर्दा चौधरी मजदुरहरुको संगतले बझाङ पुगेका कालेले यतिबेला घर र बुवा भेटाएका छन्।   बझाङको खप्तड छन्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले कालेलाई घर सम्म पुर्‍याई दिएका हुन।

यसरी भेटियो कालेको परिवार

खप्तड छन्ना गाउँपालिकाको बन्दै गरेको भबनमा काम गर्ने मजदुर मध्य कालेलाई सधै निरास र उदास देखेका अध्यक्ष रोकायाले कारण सोधेका थिए।   ‘सबै लेवरहरु खुस देखिन्थे तर काले सधै उदास रहने।   सोध्दै जाँदा उनले घर जान चाहेको बताए।   आफ्नो नाम समेत थाहा नभएका उनलाई घर पठाउन संचारकर्मीको माध्यम प्रयोग गरियो।  ’ कालेलाई घर पुर्‍याउन रोल्पा आएका खप्तड छन्ना गाउँपालिका अध्यक्ष रोकायाले भने ‘रोल्पा र बझाङका पत्रकारहरुको समन्वयमा केहि दिनमा उनको घर पत्ता लागउन सफल भएका हौ।  ’

खप्तड छन्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले माडि गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुन लगायतको टोलिका सामुन्य बुवा खरबीर घर्तीलाई कालेको जिम्मा लगाएका थिए।   माडि गाउँपालिका १ जबाङका खलबीर घर्ती यतिबेला मर्‍यो होला भनेको छोरो आए पछि दंग छन।   ‘छोरा जिउँदो होला भन्ने आश थिएन।   कुलदेबताले बचाएका रहेछन।   अब बुढो बाउ र घरको रेखदेख त गर्ला।’ खलबीरले भने ‘राति सपनामा छोरोलाई देख्थे।   कुलदेबताको पूजा गर्थे।   धन्न छोरो आयो।   खुसी छु।   यो भन्दा खुसी के मा हुने र।   छोरी माओवादीमा लागे पछि आजसम्म पनि बुवा खोज्दै आएन।   नाति नातिना छन् भन्ने सुनेको छु तर जन्मदिने बुवालाई सम्झीदैन।   जेठो छोरा विदेश छ।   कान्छोले पोखरामा काम सिक्दै छ रे।   अब माईलो आयो।  ’ बुढेसकालमा सहारा बिहिन बनेका खलबीरको घरमा यतिबेला खुसी भित्रिएको छ।

तत्कालिन माओवादी द्धन्द्धको असरमा परेर १७ बर्ष सम्म नारकिय जीबन बिताएका काले जस्ता अरु कत्ति रोल्पाली घर न घाटका भएका छन त्यसको तथ्याङ्क कतै छैन।   उता द्धन्द्धका प्रत्यक्ष प्रभाबमा परेर बेपत्ताको सूचिमा रहेका ३३ जना रोल्पालीको अबस्था आज पनि अज्ञात छ।   # नागरिक न्यूजवाट साभार

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *