प्रकृति र संस्कृतिकाे धनी लमजुङको ‘स्मार्ट भिलेज’ घलेगाउँ (फोटो फिचर)

लमजुङ – आँखै अगाडि देख्न सकिने ‘मुसुक्क’ मुस्कुराएका दर्जनौं हिमाल । शितल हावापानी । नजिकै घना जंगल । विभिन्न चराचुरुङ्गीका चिरबिरका साथै वन्यजन्तुका आवाज । प्रकृतिले सिँगार्नुसम्म सिगाँरेको छ, लमजुङको घलेगाउँलाई ।

गाउँबाटै बुद्ध, मनास्लु, ङादीचुली (डा.हर्क पिक) हिमाल, उत्तरमा अन्नपूर्ण (दोश्रो र चौथो), लमजुङ हिमाल र पश्चिममा माछापुच्छे« हिमाल देख्न सकिन्छ । गाउँबाटै सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि नियाल्न सकिन्छ ।

गोर्खा आर्मी पार्क, घले राजाको शालिक, क्वोइवो धी, उत्तरकन्या मन्दिर, सात कुवा, परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, चिया बगान, वनझाङ्ग्रो छहरा, भीर मौरी, भेँडीगोठ पनि घलेगाउँका आकर्षण हुन् ।

प्रकृतिले मात्र होइन, सँस्कृतिले पनि उत्तिकै धनी छ, क्वहोलासोँथर गाउँपालिका–३, मा रहेको घलेगाउँ । गाउँमा पुग्ने पर्यटकलाई प्रवेशद्धारमै फूलमालाले स्वागत गर्न आइपुग्छन् स्थानीयहरु ।

यहाँसम्म आउने पर्यटकले स्थानीयको आत्मीयताका साथै मनमोहक प्राकृतिक दृश्यसँगै रम्न र मौलिक सँस्कृतिमा झुम्न पाउँदा, स्थानीय परिकारको स्वाद चाख्न पाउँदा ‘स्वर्ग’कै अनुभूति गर्छन् ।

पर्यटकको रोजाईको गन्तव्य : घलेगाउँ

लमजुङको घलेगाउँ विदेशी तथा स्वदेशी दुवै पर्यटकको रोजाईको गन्तव्य बनेको छ । अहिले दैनिक २ सय देिख २ सय ५० सम्म पर्यटक भित्रिन्छन यस गाउँमा । विदेशीसँगै पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका नेपालीहरु घुम्नका लागि घलेगाउँसम्म आउँछन् ।

‘अहिले गाउँमा पर्यटकको चाप बढ्दो छ । बाह्य तथा आन्तरिक दुवै पर्यटकको रोजाईमा पर्ने गरेको छ, हाम्रो गाउँ । गाउँमा अहिले दैनिक झण्डै २५० जनासम्म पर्यटक आउने गर्दछन्,’ पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन, घलेगाउँ लमजुङका सचिव उमलबहादुर विकले भन्नुभयो ।

उहाँका अनुसार गाउँमा बाह्रै महिना पर्यटक आउँछन् ।

‘असार र साउनमा पर्यटकको आगमनमा केही कमी हुन्छ । अरु बेला त पर्यटक खचाखच नै हुन्छन्,’ उहाँले थप्नुभयो ।

उहाँका अनुसार घलेगाउँ समुद्री सतहदेखि झण्डै २१ सय मिटरको उचाईमा रहेको छ । यहाँ घले गुरुङ र विश्वकर्मा लगायतका जातिहरुको गरी १ सय २० घरधुरी रहेको छ ।

आम्दानीको दरिलो आधार होमस्टे व्यवसाय    

यहाँका बासिन्दाको मुख्य पेशा कृषि, पशुपालन, बेलायती र भारतीय सेनाका साथै वैदेशिक रोजगारी हुन् । पछिल्लो समय स्थानीयको आम्दानीको दरिलो आधार बनेको छ होमस्टे व्यवसाय ।

गाउँमा ३४ घरले होमस्टे सञ्चालन गरेका छन् । दलित समुदायमा २ वटा होमस्टे सञ्चालनमा छन् । होमस्टे सञ्चालनमा आएसँगै स्थानीयको आयस्तरमा समेत वृद्धि भइ जीवनस्तर माथि उकासिएको स्थानीय होमस्टे सञ्चालक यमुना घलेले बताउनुभयो ।

‘पहिले मेलापात गरी गुजारा गर्नुपर्ने बाध्यता थियो । अहिले होमस्टे सञ्चालनमा आएसँगै सिजनको बेला मासिक ६० हजारसम्म कमाई हुन्छ । यसले स्थानीयको जीवनस्तर माथि उकासिएको छ,’ जातीय भेषभूषामा सजिनुभएकी यमुनाले भन्नुभयो ।

‘स्मार्ट भिलेज’ शुभारम्भ

सार्क राष्ट्रकै नमूना गाउँको रुपमा परिचित घलेगाउँलाई अहिले नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि बढाइएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन, घलेगाउँ लमजुङका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।

‘नेपालकै राम्रो गाउँ बनाउनका लागि घलेगाउँलाई ‘स्मार्ट भिलेज’को रुपमा अघि बढाइएको हो । आवश्यक पूर्वाधारको निर्माण गर्दै गाउँलाई ‘स्मार्ट भिलेज’को रुपमा हामी अघि बढाउनेछौँ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार गाउँमा सरसफाईका साथै पर्यटकका लागि इन्टरनेट, गाउँसम्म आउने सडक राम्रो बनाउनुका साथै गाउँसम्म आउने पर्यटकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन पनि यसले मद्धत पुर्याउनेछ ।

घाटु, कृष्ण चरित्र, घ्याब्रे, पच्यू, शोक नाचलगायतका परम्परागत सँस्कृति, स्थानीय परिकार र प्राकृतिक दृश्यमा टहलिन पाउँदा पर्यटक दंगै पर्ने उहाँ बताउनुहुन्छ ।

केही दिनअघि घलेगाउँलाई स्मार्ट भिलेजको शुभारम्भ गर्ने कार्यक्रममा प्रमुख अतिथिको रुपमा घलेगाउँ पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि प्रकृति र सँस्कृतिमा घलेगाउँ निकै धनी रहेको बताउनुभयो ।

ग्रामीण पर्यटनको विकास गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्न सकिने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ । लमजुङ बेसीशहरदेखी झण्डै २ घण्टाको सवारी यात्रामा घलेगाउँ पुग्न सकिन्छ । पैदल हिँडेर ५ घण्टामा घलेगाउँ पुग्न सकिन्छ ।

उज्यालो अनलाइन

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *